खोकु छिन्ताङ र आँखिसल्ला हत्याकाण्डः कहिलै नसकिने कथाब्यथा

Nepal Durbar

२०७९-०७-२९

197
Shares

धनकुटा । “गड्याङगुडुङ मेघ पनि हैन आकाशै सफा छ, छिटाछिटी पानी त हैन रगतकै थोपा छ, रगतकै  थोपा छ,” ठीक ४४ बर्षअघि सरकारी दमनको कारण खोकु, छिन्ताङ आँखिसल्ला(खाल्सा)मा सहादत प्राप्त गर्ने सहिदको सम्झना गर्दै जनकलाकार रेख ब्लोनले त्यति बेलाको यथार्थ कथा यसरी शब्दमा उतारेका थिए ।

धनकुटा जिल्लाको पश्चिम दक्षिणमा अवस्थित त्यस क्षेत्रमा २०३६ साल कात्तिक २४ गतेदेखि २९ गतेसम्म बहुदलवादीको नाममा १६ जना जनतालाई गोली हानी हत्या गरियो । सयौँलाई निर्मम यातना दिई जेलनेल पठाइएको थियो । अहिले पनि त्यस बेलाका पीडित वृद्धहरु जीवन–मरणको दोसाँधमा ओछयानमा परेका छन । अझ मेघ गर्जेझैँ पड्कने, बन्दुक र पानीको थोपाझैँ बगेको रगतको धारा त्यहाँका जनताको मस्तिष्कमा ताजै रहेको छ । त्यति बेला सहिद परिवारको मात्रै आँसु बगेन सिंगो खाल्सा र नेपाल आमा रोइरहेकी थिइन्, घटना स्मरण गर्दै घटनाबाट पिडित सुभानसिं राईले बताए । 

त्यसवेला घरमा गाईको दुध धुने काम गरिरहेको बेला प्रहरीले घेरा हालेको बताउदै सुभानसिं राई भन्छन, प्रहरीको पञ्जाबाट फुत्केर भागे र खोलामा भीरबाट हाम फालेर बाँचे । उनी जस्तै खोकु छिन्ताङमा तत्कालिन प्रहरीको यातना पाउने छिन्ताङ गाविस वडा नः ४ का बमबहादुर राईले प्रहरीले कुटाईबाट १ महिना सम्म सुत्नु परेको बताए । बहुदलबादी भन्दै प्रहरीले पाता कसेर कुटेको कारण अहिले पनि शरीरमा असर परेको बमबहादुरले बताए । 

छिन्ताङ्गका १६ जना शहिदहरु गोपालआनन्द राई, गंगाबहादुर तुप्रिहाङ्ग भैरवबहादुर खालिङ्ग राई, लाखमान साधु राई, बलबहादुर खत्रि, पुत्रमान राई, केसरबहादुर राई, टंकबहादुर विश्वकर्मा रणध्वज पूमाराई, गणेशबहादुर विश्वकर्मा हाङखिमा साईली (श्रीमाया राई) झगेन्द्र राई धनविर दर्जी चन्द्रबहादुर दमाई, रामकुमारी राई र गम्भिरमान दर्जीका परिवारले पनि यस्तै पीडा पोख्छन । यसरी मारिएका १६ जना सहिद मध्ये खाल्सा क्षेत्रको तारेभिर, खानीखोला, पाताल जंगल, खरिखोला, तमोर नदिमा र जिल्ला बाहिर १ जनालाई गोली हानी, बगाए्र र विष खुवाएर हत्या गरिएको थियो । यही घटना खोकु छिन्ताङ, आँखिसल्ला हत्याकण्डको नामले चर्चित रहेको छ । 

यसरी खोकु छिन्ताङ र आँखिसल्लाका जनताले दुख पाए पनि अहिले सम्म शान्तिको सास फेर्न समेत पाएका छैनन । सहिद परिवारले राहत स्वरुप १÷१ लाख रुपैया राज्यबाट पाए पनि त्यस बाहेकका अन्य सहयोग अहिले सम्म पाएका छैनन् । सहिद हांखिमा साईलीका छोरा भलकमान राईले राज्यले नै छिन्ताङका सहिद र उनीहरुका परिवारलाई ठगी रहेको बताए । उनले भने – राज्यले नत रामो राहत नै दियो नत हत्यारालाई कर्वाही नै गर्यो । 

हत्या काण्ड हुनका कारण 

कम्यूनिष्टको गाँउ भनेर चिनिने खाल्सा क्षेत्र धनकुटा सदरमुकामदेखि ८ कोष टाढा रहेको छ । ०२२/२३ सालतिर धरानका बम देवान, गोविन्द विकल, ज्वाला रेग्मी शिक्षण पेशा गर्ने नाममा रेड बुक लिएर तत्कालिन नेकपा मालेको संगठन विस्तार गर्न पुगेका थिए । त्यस्तै यमनाथ बराल पनि राजनीति संगठन विस्तारमा पुगेका थिए । तर अहिले उनी गुमनाम रहेका छन । 

त्यहि वेला देखि खाल्सा क्षेत्रमा कम्यूनिष्टहरुले जरा गाडेका थिए । कम्यूनिष्ट पार्टीको संगठन विस्तार संगसंगै धेरै वर्ष अगाडिदेखि चलेको हैकमवादी ब्यवस्थाको बारेमा जनताले बुझदै गए । स्थानीयस्तरको पन्चायती ब्यबस्थाको पक्षपोषण गर्नेहरु त्यतिबेला कम्युनिष्ट कार्यकर्ताको निसानामा परे । केहीलाई कार्वाही समेत गरे । त्यही हैकमवादी ब्यवस्थाको विरुद्धमा त्यहाँका जनताले ०२८ सालदेखि बहिस्कार र सशक्त आन्दोलन शुरु गरे । यो क्रम २०३६ साल सम्म आईपुग्दा चरमविन्दुमा पुग्यो  यही आन्दोलननै २०३६ सालको हत्याकाण्डको कारण वन्न पुगेको खोकु छिन्ताङ हत्याकाण्डका खोजकर्ता प्राध्यपक डा. गोपाल भट्टराईले बताए । 
                 
आन्दोलन यसरी दमन गरियो 

खोकु, छिन्ताङ्ग र आँखिसल्लामा शुरु गरिएको आन्दोलनले उग्ररुप लिए पछि तत्कालिन प्रधानमन्त्री सूर्यबहादूर् थापाको ठाडोे आदेशमा हत्याकाण्डको योजना धरान स्थित फुस्रे सैनिक ब्यारेकमा वनाईयो । उक्त योजना तयार गर्न तत्कालिन डिआईजी डि.वि लामा कोशी अञ्चलका अंचलाधिस सत्रुघनप्रसाद सिंह, बिग्रेडिएर जनरल कुवेरशमसेर राणा, एस.पी. रामबहादुर श्रेष्ठ लगायतका ब्यक्तिहरुको सक्रिय भूमिका रहेको डा. गोपाल भट्टराईले लेखेको छिन्ताङ हत्यकाण्ड सम्वन्धि पुस्तकमा उल्लेख छ । 

जस अनुसार ४०० जना शसस्त्र  प्रहरीले खाल्सा क्षेत्रलाई घेरा हाले । उक्त प्रहरी फोर्सको नेतृत्व तत्कालिन डिआईजी डि.वि लामाले गरेको थिए । यसरी तैनाथ गरिएको प्रहरी शक्तिलाई खाल्सा क्षेत्रको गाँउगाँउमा कम्यूनिष्टलाई मार्न कार्तिक २४ देखि २९ गते छुट दिईयो । यो योजना मुताविक १६ जनालाई निर्मम हत्या गरि सयौलाई जेल नेल र झुटा मूद्धा लगाईयो । 

अधिकारका निम्ति लडिरहेको बेला गरिएको हत्या र दमन स्थानीय सुराकीको आधारमा गरिएको डा. भट्टराईको पुस्तकमा उल्लेख गरिएको छ । अहिले पनि त्यस वेलाका सुराकीहरु जिवितै रहेका छन् उनीहरुले अहिले पनि सताउन छाडेका छैनन् । तर तिनीहरुलाई कार्वाही गरिने तर्फ कसैको पनि ध्यान नपुगेको सहिद गोपालआनन्द राईका छोरा योगेन्द्र राईले बताए । 

माओबादी जनयुद्धको बेला हत्यकाण्डमा संलग्न ब्याक्तिहरुलाई कार्बाही गर्ने प्रयास गरी जन्ताको मन जित्ने प्रयास गरेको थियो । माओबादीले यो काण्डका सुराकी भनेर तत्कालिन गाविस अध्यक्ष गोविन्द वालिङको २०५८ सालमा हत्या ग¥यो भने केसरबहादुर भण्डारी डम्बर नाक्छोङ लगायतलाई जनकार्बाही गर्यो । 

त्यसो त यो हत्याकाण्डको नाईके भनिएका पुर्वप्रधानमन्त्री स्वर्गीय सुर्यबहादुर थापा जिवनको अन्तिम समयमा २०७० सालमा सुटुक्क छिन्ताङ पुगे र छिन्ताङदेवीको दर्शन गरी फर्केका थिए । छिन्ताङ जानको लागि पटकपटक प्रयास गरे पनि त्यहाँका जनताको अवरोधको कारण छिर्न सकेका थिएनन् । 

सहिदहरुको सम्झनाका लागि तत्कालिन जिल्ला विकास समिति धनकुटाले केही महत्वपूर्ण काम  गरेको छ । जिल्ला विकास समिति धनकुटाले सहिदको सम्झना स्वरुप २०५३ सालमा सहिदहरुको मूर्ति साविक छिन्ताङ्ग गाविस. वडा न. १ हाल सहिदभुमी गाउँपालिका वडा नं. ३ स्थित पंचकन्यामा स्थापना गरी सहिद स्मारक पार्कको निर्माण गरेको थियो । उक्त सहिद स्मारक पार्कको शिलान्यास तत्कालिन नेकपा मालेका महासचिव मदन भण्डारीले २०४७ साल कार्तिक २८ गते गरेका थिए  । सहिदहरुको प्रतिमाको अनावरण तत्कालिन उपप्रधानमन्त्री एवं तत्कालिन नेकपा. एमालेका महासचिव माधवकुमार नेपालले २०५३ सालमा गरेका थिए । यसको अलवा जिल्ला विकास समितिले आर्थिक उन्नति गर्ने र शहिद परिवारहरुलाई छात्रवृति दिने समेत कार्यक्रम संचालन गरेको प्रतिनिधिसभाका सांसद एवं नेकपा धनकुटाका अध्यक्ष राजेन्द्र राईले बताए ।    राई तत्कालिन जिविसका उपसभापति थिए ।

३८ बर्षपछि सहिद घोषणा  

हत्याकाण्ड भएको ३८ बर्ष पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला २०७४ सालमा सहिद घोषणा गरेको छ । तर सहिद भएपछि पाउँनु पर्ने राज्यको सेवा र राहत सहयोग पाएका छैनन् । राहत र क्षतिपुर्तिको लागि सांसद राजेन्द्र राई, प्रदेश सांसद निरन राई, ईन्द्रमणी पराजुली लगायतले निरन्तर पहल गरेका छन् । सहिद गोपाल आनन्द राईका छोरा योगेन्द्र राईले राज्यले शहीद घोषणा गर्दा खुसी लागेपनि पुरा न्याय पाईयो भन्न नमिल्ने बताउछन् । निवर्तमान वडाध्यक्ष समेत रहेका राई भन्छन्– शहीदहरुको जन्मथलोमा विकास निर्माणका के काम हुन्छ  र गाउँको समृद्धिमा के टेवा पुग्छ भन्ने विषय महत्वपुर्ण हो । तर यसको कुनै जग बसाउने प्रयास भएको छैन ।   

    स्थानीय जनप्रतिनिधिको पहल  

गएको बर्ष प्रदेश १ का तत्कालिन मुख्यमन्त्री शेरधन राईको मन्त्रीपरिषदले खोकु छिन्ताङ र आँखिसल्लाका सहिद परिवारलाई ५÷५ लाख रुपैयाँ राहत दिएको थियो । धनकुटा जिल्लाका सांसद र सहिदभुमी गाउँपालिकाका जनप्रतिनिधिहरुको मागको आधारमा राहत दिएको हो । हरेक बर्ष राहत र क्षतिपुर्तिको विषयमा कुरा उठेपनि सरकारी निकायबाट संबोधन हुन सकेको थिएन् । तर यो पटक प्रदेश सरकारले राजनीतिक मुक्तिको आन्दोलनका सहिदहरुलाई सम्झेर राहत दिएको सहिदभुमी गाउँपालिका अध्यक्ष मनोज राईले बताए । गाउँपालिकाले पनि सहिद परिवारका सदस्यलाई शिक्षा, स्वास्थ्य र आर्थिक विकासमा क्षेत्रमा सहयोग गरेको छ ।      

घाउँ अझै आलै छ 

यसरी सहिद परिवारका वारेमा जसले जस्तो प्रकारको कार्यक्रम ल्याए त्यो बेलाको नरसंहार र दमनको घट्नाको घाउँ अझै आलै छ । राजनीतिक परिवर्तनसँगै त्यो घट्नालाई विर्सनु पर्ने हो , तर मनमा गढेको अतितको पीडा कहाँ सकिन्छ !  त्यो बेलाको सम्झना गर्दा कहिले काही मनमा एककिसिममा आक्रोस र प्रतिकार गर्ने सोच आउँने गरेको सहिदपुत्र एवं साविक छिन्ताङ गाविसका पुर्व उपाध्यक्ष गंगाबहादुर राईले बताए । पुरानो कुरा विसर्नु पर्ने हो । तर राजनीतिक परिवर्तनको लागि गरिएको संघर्षको कथाले मन उत्तेजित हुने रहेछ, उनले बताए । थुप्रै सरकार र ब्यबस्था परिवर्तन भईसकेका छन् । तर पनि मनको कथाब्यथा मनभित्रै छ । कसैले सोधीहाले सरसर्ती आउँछ । राजनीतिक परिवर्तनका अन्य घट्नामा सहिद भएका परिवारको विषयमा बोलीदिने थुप्रै आन्दोलन भएका छन् । यो क्षेत्रका जनता  र सहिद परिवारको विषयमा बोली दिने कार्य अहिले हुँदै आएको छ । कात्तिकको अन्तिम हप्ता राष्ट्रियस्तरको नेतालाई अतिथि बनाएर हरेक बर्ष सहिद परिवार र स्थानीयबासीको दुखेसो सुनाउने गरिएको छ ।  

अरुण र तमोर नदीको संगमस्थल सहिदभुमी क्षेत्र अहिले पनि गरिबीबाट माथी उठ्न सकेका छैन । गाउँमा सडक पुगेको छ । तर पक्की बन्न सकेको छैन । धनकुटाको सांसद्हरुको पहलमा तत्कालिन मुख्यमन्त्री शेरधन राईको सरकारले कालोपत्रे गर्ने योजना बनाएको थियो । जुनकार्य अहिले भइरहेको छ । यो गाउँपालिकाका अधिकांश परिवार खेतिकिसानमा दैनिकी गुजारी रहेका छन् । अहिले त यो दुख छ । ४० बर्ष अगाडीको दुख कस्तो थियो होला । जुन दुखको सामाजिक र राजनीतिक न्यायको लागि आवाज उठाउनेहरुलाई राज्यले दमन गर्यो । त्यो दिन भोग्नेहरु अझैपनि कुराकानी गर्न मन अमिलो बनाउछन् ।  त्यसैले त जनकलाकार गणेश इजमको रचनामा जनकलाकार किशोर थुलुङ गाउछन्
‘‘खोकु छिन्ताङ्ग दुख्यो कि अरुण सुसाउदा ।
मन सबको रुन्छकी दुःख विसाउदा ।’

197
Shares

धेरै हेरिएका

©Nepal Durbar 2021-2024. All rights reserved.

Developed By IvaZz Technology