पूर्वाधार विकासको पर्खाइमा महाभारतकालीन ‘किचकबध’

Nepal Durbar

२०७९-०९-१६

86
Shares

सन्तोष शर्मा

बनियानी झापा, १६ पुस (रासस)।  झापाको भद्रपुर नगरपालिका–२ स्थित महाभारतकालीन ऐतिहासिकस्थल किचकबध पूर्वाधार विकासको पर्खाइमा छ । नेपालकै उत्कृष्ट पर्यटकीयस्थलमध्ये एक बन्नसक्ने पर्याप्त सम्भावना बोकेको किचकबध यतिबेला पूर्वाधार विकासको पर्खाइमा रहेको हो ।

किचकबधलाई झापामा मात्र नभई मुलुककै उत्कृष्ट गन्तव्य बनाउन रू एक अर्ब ५३ करोड ६० लाख बराबरको गुरुयोजना निर्माण गरिएको किचकबध धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेवेले जानकारी दिनुभयो । गुरुयोजना पुरातात्विक विभाग र पर्यटन मन्त्रालयमा पेस गरिएको छ ।

“हामीले गुरुयोजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “तर बजेट अभावमा काम गर्न सकिएको छैन ।” घेराबार, पूर्वाधार निर्माण, जग्गा खरिद, पार्किङ, मठ, मन्दिरको स्तरोन्नति, वनभोजस्थल निर्माण, बगैँचा, दृश्यावलोकन स्तम्भलगायतका विषयलाई समेटेर गुरुयोजना निर्माण गरिएको उहाँले बताउनुभयो । 

“यहाँको ऐतिहासिकताको संरक्षण गर्दै उत्कृष्ट पर्यटकीयस्थल बनाउने योजना छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म रु दुई/तीन करोडको काम मात्र भएको छ ।” करिब १० बिघा क्षेत्रफलमा किचकबध फैलिएको छ । किचकबधको उत्तरतर्फ रहेको खोलाको बगरको करिब १० बिघा ऐलानी जग्गासमेत संरक्षण समितिकै मातहतमा रहेको छ भने सो क्षेत्रमा वृक्षरोपण गरिएको छ । पोखरी निर्माणका लागि पश्चिमतर्फको थप २० बिघा जमिन खरिद गर्ने लक्ष्य रहेको संरक्षण समितिका सचिव मदन कँडेलले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट हालसम्म रू एक करोड ४५ लाख र प्रदेश नं १ सरकारअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रायबाट रू ६० लाख प्राप्त भएको छ । प्रदेश सरकारबाट प्राप्त बजेटबाट बालउद्यान (चिल्ड्रेन पार्क) निर्माण गरिएको छ भने मन्त्रालयबाट प्राप्त बजेटबाट घेराबारा र भीम–किचकको प्रतिमा निर्माण गरिएको छ ।

हाल किचकबधमा बालउद्यान (चिल्ड्रेन पार्क), स्थायी प्रहरी चौकी, भीम–किचकको प्रतिमा निर्माण, आंशिक घेराबाराको काम सकिएको छ । “धार्मिक र ऐतिहासिकस्थल भएकाले यसको सुरक्षाका लागि हामीले पहल गरेर अस्थायी प्रहरी चौकी निर्माण गरेका थियौँ”, संरक्षण समितिका सचिव कँडेलले भन्नुभयो, “अहिले त्यसलाई अस्थायीबाट स्थायी प्रहरीचौकी बनाएका छौँ ।”

    चिल्ड्रेन पार्क, बिजुली र पानीको व्यवस्थापन भएसँगै यहाँ वनभोजको मौसममा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । त्यसले यहाँको आम्दानीको स्रोतको वृद्धिसँगै किचकबधको प्रचारप्रसारमा थप टेवा मिलेको छ । वनभोज खान आउनेलाई प्रतिसमूह रू पाँच सय शुल्क लिने गरिएको छ भने चिल्ड्रेन पार्कमा प्रतिव्यक्ति रू ३० प्रवेश शुल्क लिने गरिएको छ ।

वनभोज खान आउने बढे

पछिल्लो समय यहाँ वनभोज खान आउनेको सङ्ख्या बढेको छ । वनभोजको मौसममा मासिक रु दुई हजारभन्दा बढी पर्यटक आउन थालेको संरक्षण समितिका अध्यक्ष थेवे बताउनुहुन्छ । “अरु बेला पनि (चाडपर्व र बिदाका दिनमा) मानिस घुम्न आउने गरेका छन्”, उहाँले भन्नुभयो, “पछिल्लो समय पर्यटकको आगमनमा वृद्धि भएको छ ।” किचकबधसम्म पुग्ने सडक निर्माण, पानी, बिजुली लगायतको व्यस्थापन भएसँगै यहाँ पर्यटकको आगमन बढेको हो । अन्य बिदाका दिन चार सयदेखि पाँच सय जनासम्म घुम्न आउने गरेका छन् ।

विसं २०६२ देखि संरक्षण समिति गठन गरेर किचकबधमा आयआर्जनसँगै पर्यटकीयस्थल निर्माणको काम भइरहेको संरक्षण समितिका पूर्वसचिव शिवकुमार राजभण्डारीले बताउनुभयो । “यहाँको ऐतिहासिक पौराणिक महत्वलाई थप उजागर गर्दै अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यसमा सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।”

किचकबधलाई भद्रपुर नगरपालिकाले चालू आर्थिक वर्षमा रू पाँच लाख बजेट छुट्याएको छ भने प्रदेश सरकारबाट रू २० लाख छुट्याइएको संरक्षण समितिका अध्यक्ष थेवेले जानकारी दिनुभयो । निर्माणाधीन शिव मन्दिरको काम पूरा गर्ने गरी नगरपालिकाले उक्त बजेट दिएको हो ।

२० फिट अग्लो भीम–किचकको प्रतिमा

किचकबधमा हालै २० फिट अग्लो भीम–किचकको प्रतिमा निर्माण गरिएको छ । संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत प्राप्त बजेटबाट निर्माण गरिएको प्रतिमाको हल्दीबारीका कलाकार सुफल मर्डीले बनाउनुभएको हो ।

पुरातत्व विभागले साविकको स्थानमा रहेको भीम–किचनको प्रतिमा हटाउन भनेपछि साविकको स्थानदेखि करिब ५० मिटर पर अर्को ठूलो प्रतिमा निर्माण गरिएको हो । त्यसको निर्माण लागत रू २३ लाख ७० हजार आठ सय ७७ रहेको छ । नवनिर्मित २० फिट अग्लो भीम–किचकको प्रतिमा निर्माण भएपछि यतिबेला यहाँ सेल्फी खिच्नेको भीड लाग्ने गरेको छ । 

त्यस्तै देउनियाँ खेलामा रहेको झुलुङ्गे पुललेसमेत यहाँको आकर्षण बढाएको छ भने आवागमनमा समेत मद्दत मिलेको छ । प्राकृतिक दृश्यावलोकनका लागिसमेत यो क्षेत्र मनमोहक छ ।

धार्मिक महत्व बोकेको किचकबध पोखरी

किचकबधको उत्तरीतर्फ एउटा पोखरी छ । त्यसलाई किचकबध पोखरी भनिन्छ । महाभारतकालमा भीमसेनले विराट राजाका साला एवं उक्त राज्यका सेनापति किचकको बध गरेको र मर्न लागेका किचकले पानी पिउने आफ्नो अन्तिम इच्छा व्यक्त गरेपछि भीमसेनले मुड्कीले हिर्काएर पानी निकालेको र सोही स्थान बनेको जलकुण्डलाई ‘किचकबध पोखरी’ नामकरण गरी पूजाआजा गर्ने गरिएको जानकार बताउँछन् ।

हरेक वर्ष श्रीस्वस्थानी व्रतको बिर्सजनका दिन यहाँ भव्य मेला लाग्ने गरेको छ । उक्त मेलामा झापा, मोरङ, सुनसरीलगायत भारतको बङ्गाल र कुचविहारबाट ठूलो सङ्ख्यामा भक्तजन आउने गरेको संरक्षण समितिका अध्यक्ष थेलेले बताउनुभयो । यस वर्ष आगामी माघ २२ गते मेला लाग्दैछ । “बालबालिकाको केश मुण्डन (केश काट्न) भारतको बङ्गाल र विहारबाट ठूलो सङ्ख्यामा भक्तजन आउँछन्”, उहाँले भन्नुभयो, “यहाँ आएर केश काट्ने भाकल गरेको पाइन्छ ।”

किचकबध पोखरीमा कहिल्यै पानी सुक्दैन भने पोखरीमा फुल्ने कमलको पुलले यसको आकर्षण बढाएको छ । मेची र देउनियाँ नदीको दोभानमा अवस्थित किचकबध परिसरमा सतीदेवी, विष्णुपादुका र शिवको मन्दिर रहेको छ । 

ऐतिहासिक पृष्ठभूमि

किचकबध महाभारतकालीन कथासँग जोडिएको छ । यस क्षेत्रमा दुई हजार वर्षभन्दा पहिलेको दरबार, किल्ला, पर्खाल, भाँडाकुँडा र इँटा पुरातत्व विभागको उत्खननबाट फेला परिसकेको छ । विसं २०५९ मा पहिलो पटक उत्खनन गर्दा स्वस्तिक चिह्न भएको माटाको इँटा किचकबध स्थलमा फेला परेको थियो । 

महाभारत कथामा पाँच पाण्डवकी रानी द्रौपदीमाथि कुदृष्टि राख्ने ‘किचक’ नामको पात्रलाई मारिएको स्थान भएकाले यस ठाउँको नाम ‘किचकबध’ रहन गएको हो । अहिलेको किचकबध स्थल त्यही विराटकालीन नाट्यशाला भएको विश्वास गरिएको छ । वरिपरि खेतका बीचमा अग्लो डाँडामा किचकबध स्थल रहेको हुँदा भौगोलिक बनावटका आधारमा समेत यो ठाउँमा पुरानो दरबार हुनसक्ने ठानिएको छ ।

कसरी पुग्ने किचकबध ?

झापा सदरमुकाम चन्द्रगढीदेखि करिब १० किलोमिटरको दूरी पार गरेपछि किचकबध पुग्न सकिन्छ । हुलाकी राजमार्गसँग जोडिएकाले भद्रपुर–२ स्थित सगरमाथा चोकसम्म सहजै पुग्न सकिन्छ । उक्त चोकदेखि करिब डेढ किलोमिटर पूर्वग्रावेल सडकको यात्रा गरेपछि किचकबध पुगिन्छ ।

किचकबधको दक्षिणी भागमा ससाना चिया खाजा पसलसमेत रहेका छन् । त्यसले गर्दा यहाँ पुग्ने पर्यटकले चिया, खाजा र खानाका लागि समस्या छैन भने हुलाकी राजमार्ग आसपास सानाठूला होटल तथा लज भएकाले बसोबासका लागिसमेत कुनै समस्या नरहेको भद्रपुर–२ की स्थानीयवासी एलिना श्रेष्ठले बताउनुभयो ।
 

86
Shares

धेरै हेरिएका

©Nepal Durbar 2021-2024. All rights reserved.

Developed By IvaZz Technology