काभ्रेमा बढ्दो वन्यजन्तु आतङ्क, कृषकलाई बाली जोगाउनै सकस

Nepal Durbar

२०८०-०५-१४

78
Shares

राजकुमार पराजुली्/रासस

  काभ्रेपलाञ्चोक। पनौती नगरपालिका–१० स्थित वडा कार्यालयमा स्थानीय पाँच कृषकले जङ्गली जनावर बँदेलले बारीका मकैमा क्षति पुर्‍याएको जनाउँदै निवेदन दिनुभएको छ । कृषकले बँदेल नियन्त्रण तथा पुगेको क्षतिपूर्ति दिलाउन माग गर्नुभएको हो । “दुई रोपनी बारीको मकै बँदेलले भाँच्दै र केही मकै खाँदै सखाप बनायो, बँदेल नियन्त्रण गर्दै बारीमा पुगेको क्षतिपूर्ति पाइन्छ कि भनेर वडा कार्यालयमा सिफारिस लिन गएका हौँ”, स्थानीय शङ्कर कोइरालाले भन्नुभयो ।

उहाँका अनुसार दुई रोपनी बारीमा मकै फलाउन रु २० हजार खर्चिएको हो । उहाँको बारीमा नजिकको इन्द्रेश्वरी थल्पु वन ‘क’बाट केही सङ्ख्यामा बँदेल आई छिप्पिन लागेको मकैमा क्षति पुर्‍याएका थिए । खोपासीमा केही दिनदेखि बँदेलले बारीका मकै सखाप पारिरहेको छ । वर्षभरि परिवार र गाईवस्तुका लागि बारीमा लगाएको मकै पाक्ने बेलामा बँदेल पसेर विनास गर्न थालेपछि स्थानीयवासी निकै चिन्तित बनेका हुन् । अर्का स्थानीय मैया महतले आप्mनो १० रोपनी बारीको मकै वनबाट आएका बँदेलले यही हप्ता विनास गरेको बताउनुहुन्छ । उहाँको बाली बँदेलले विनास गरेको यो पहिलो पटक भने होइन । “प्रक्रिया पुगेका कृषकलाई वन कार्यालयले अधिकतम रु १० हजारसम्म राहत दिन्छ, यसअघि पनि मैले सोही प्रकारको क्षतिपूर्ति लिएको छु”, महतले भन्नुभयो ।

बँदेलले मकैमात्र नभई धान बालीसमेत विनास गर्ने गरेको वन उपभोक्ता समितिका सचिव बालकृष्ण फुयाँलले बताउनुभयो । यस्तै उहाँले स्थानीय कृषकका खेतबारीमा पिँडालु, सखरखण्ड, भूईंस्याउ जस्ता नगदेबालीमा क्षति पुर्‍याउँदै आएको जानकारी दिनुभयो । बँदेलको आक्रमणबाट १० नं वडामा बर्सेनि करिब दुई सय रोपनी मकैबारीमा क्षति पुग्ने र ५० देखि ६० परिवारले राहतका लागि वडाबाट सिफारिस लाने गरेको वडाध्यक्ष मोहनबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार क्षतिपूर्तिका लागि वडा कार्यालयको सिफारिस, प्रहरीको मुचुल्का, नगरपालिकाको कृषि प्राविधिकको स्थलगत अनुगमन तथा क्षतिको विवरण प्रतिवेदनसहित जिल्ला वन कार्यालयलाई बुझाउनुपर्ने प्रावधान छ ।

यसैगरी छ महिनाअघि चैतमा पनौती नगरकै ५ नं वडास्थित सुब्बागाउँको खेतमा रोपिएको आलुखेतीमा बँदेलले क्षति पुर्‍यायो । जङ्गलछेउका खेतमा एक रातमै करिव दुई तीन रोपनी खेतको आलुको ड्याङ भत्काएर खाने र कलिलैमा सपाख पारेपछि त्यतिबेला स्थानीय कृषक रातभर खेतमै बस्न बाध्य हुनुपरेको स्थानीय बुद्धिबहादुर थापाले सुनाउनुभयो । “राति बँदेलको समूहले ठाउँठाउँमा गरी १५ रोपनी जति खेतमा आलु क्षति पुर्‍याइसकेका थिए, त्यही भएर रातभर पाले बस्नु पर्‍यो”, उहाँले भन्नुभयो । उक्त घटनाको केही महिनाअघि गतवर्ष पनौतीकै कुशादेवी क्षेत्रमा समूह समूहमा आएको बाँदरले स्थानीयलाई निकै दुःख दिएका थिए ।

विसं २०७९ असारमा मण्डनदेउपुर नपा–९ स्थित रायोबारीमा चितुवाले एक फार्मका तीन सय ५० कालिज मारेको थियो । बिहान ३ बजे अध्याँरोको समयमा कालिज मार्दै खाँदै गरेपछि स्थानीयले देखेर चिच्याएपछि चितुवा भागेको थियो । मारेको ३५० मध्ये चितुवाले ६० वटा कालिज खाएको थियो । बाख्रा, टर्की र कुखुरापालन गरिएको उक्त फार्ममा त्यतिबेला रु आठ लाखको क्षति भएको थियो ।

सोही नगरको १ नं वडास्थित नगरकोट हलेदेमा बँदेलले सयौँ रोपनी जमिनको मकै खाँदै फाँडेर सखाप पारेको थियो । बँदेलबाट अन्नबाली जोगाउन स्थानीय रातभरि आलोपालो कुरुवासमेत बसेका थिए । स्थानीय दिपक बस्ताकोटीका अनुसार बँदेल आतङ्कले गाउँलेसमेत घरमा बस्न डराउने अवस्था आएको छ । “त्यतिबेला अन्नबाली मात्र हैन, मानिससमेत डराउनुपर्ने अवस्था सिर्जना भएको थियो, यसपालि पनि त्यही हुने हो कि, मकै पाक्ने बेला हुन लाग्यो” उहाँले भन्नुभयो । उहाँका अनुसार विशेषगरी राति समूह समुहमा आएका बँदेलले फल्न थालेको मकैबाली सखाप पार्ने गर्छन् ।

उक्त नगरको १२ वडामध्ये आठ र नौ बाहेक सबैमा बाँदरले खेतबारीको बालीमा क्षति पुर्‍याएको थियो । त्यतिबेला नगरले पहिलो चरणमा १२ नम्बर वडाका स्थानीयलाई सामूहिक रुपमा प्रयोग गर्न बाँदर धपाउने १५ यन्त्र दिएको थियो । यन्त्रको प्रयोगपश्चात उक्त क्षेत्रमा बाँदर आउन छाडेको नगरप्रमुख टोकबहादुर वाइवा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “केही क्षेत्रमा बँदेल, केही क्षेत्रमा बाँदरले कृषकलाई निकै दुःख दिएका छन्, सकेसम्म यन्त्र वितरण गरी नियन्त्रण गर्ने गरिएको छ, क्षतिपूर्तिका लागि माग्न आउने कृषकलाई वडा कार्यालयबाट सिफारिस दिएर पठाउने गरेका छौँ ।”

घटनाक्रमले काभ्रेपलाञ्चोकमा केही वर्षदेखि जङ्गली जनावरको आतङ्क बढ्दै गएको देखिएको छ । जङ्गल नजिक बस्तीका कृषकका बाली नष्ट भएका छन् भने यदाकदा, चितुवाजस्ता हिंस्रक जनावरको आक्रमणले जनधनको क्षति हुँदा मानिससमेत त्रसित अवस्थामा बस्नुपर्ने बाध्यता देखिन्छ ।

पाँचखाल नपा–१३ कोशीदेखाका बासिन्दा चार वर्षदेखि बँदेल र बाँदरले बालीमा पुर्‍याउँदै आएको क्षति सहँदै तिनका आतंकले निकै आजित बकिसकेका छन् । स्थानीय यमलक्ष्मी थपलियाले बँदेल र बाँदरले कटहर र अदुवाबाहेक सबै खाने गरेको दुःखेसो पोख्नुहुन्छ । “जङ्गली जनावरको आतङ्क नरोकिए विस्थापित हुनुपर्ने बाध्यता देखिसकेको छ”, उहाँले भन्नुभयो । स्थानीय जनप्रतिनिधिसँग पटकपटक दुःखेसो पोखे पनि समाधानको कुनै उपायबारे सल्लाह र सहयोग नभएको उहाँको गुनासो छ ।

वनेपा नपा–३ काँक्रेका कृषक गोकुलप्रसाद बजगाई वन बाक्लिँदा जङ्गली जनावर पनि बढ्दै गएकाले पछिल्ला केही वर्षयता मानिसका लागि थप चुनौती बन्दै गएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “वनमा बँदेलको सङ् ख्या बढ्दा आलुलगायतका खेतीबाली नष्ट हुँदै गइरहेका छन् ।” उहाँका अनुसार प्रत्येक वर्ष बँदेलले खेतबारीमा लगाएको आलु रोपेकै दिन हुँडलेर सखाप बनाइदिने गर्दछन् । स्थानीय शिक्षक तुलाप्रसाद दाहाल भने बँदेल भगाउन केही वर्षअघि बारीमा रेडियो बजाएर राखेकोसमेत अनुभव सुनाउनुहुन्छ ।

धुलिखेल नपा–१ देवीटारकी कृषक सरस्वती घोरासैनीलाई भने दुम्सीले हैरान पार्दै आएको वर्षौँ भैसक्यो । “दुम्सीले बारीको काँक्रो र तरकारीका बोटनै सखापै पार्ने गर्छ, अहिले पनि अन्य बालीमा क्षति पुर्‍याउँछ कि भन्ने सम्भावित जोखिममै बसेका छौँ”, उहाँले भन्नुहुन्छ । उहाँका अनुसार दुम्सी ओढारमा लुक्ने र कोही नभएको बेला बारीमा आएर काँक्रो, घिरौँला, सिमी तथा अन्य बालीको उम्रिएका बोट उगेलेरै फाल्ने गर्दछन् ।  

काभ्रेपलाञ्चोकमा वन क्षेत्रमा जोडिएर रहेका बस्तीमा जङ्गली जनावरले बाली तथा घर पालुवा जनावरलाई समेत क्षति पुर्‍याएपछि समाधानका लागि वर्षेपिच्छे छलफल पनि चलाउने गरिन्थ्यो । जिल्लास्थित संवाद समूहले केही महिनाअघिसम्म विभिन्न स्थानीय तहमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे विभिन्न चरणमा सरोकारवालासँग संवाद गर्दा अधिकांश कृषकले बँदेल र बाँदरको समस्या देखाउँदै आएका थिए ।

डिभिजन वन कार्यालय धुलिखेलका वन अधिकृत देवीचन्द्र पोखरेल जिल्लाका अधिकांश वनभित्र आवश्यक सङ्ख्याभन्दा बढी बँदेल भैसकेकाले किसानसँग द्वन्द बढ्ने खतरा बढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “कति सङ्ख्यामा कलिङ गर्ने भनेर नीतिमै परिवर्तन नगरेसम्म जङ्गली जनावरको आतङ्क न्यूनीकरण गर्न सकिँदैन ।” उहाँका अनुसार कार्यालयसँग वन्यजन्तु न्यूनीकरणका लागि कुनै योजना नभए क्षति भएपछि क्षतिपूर्ति दिने काम भइरहेको छ ।

पोखरेलले हाल पनि जिल्लाका केही स्थानबाट जनावरले क्षति पुर्‍याएको भन्दै क्षतिपूर्ति माग्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक वन–एक घाँसे मैदान र एक पोखरी भन्ने सचेतना अभियानमा लागिरहेका छौँ, यो अभियानले केही हदसम्म वन्यजन्तुको आतङ्क न्यूनीकरण हुन्छ भन्ने अपेक्षा गरेका छौँ ।” उहाँका अनुसार वन्यजन्तुको आतङ्क रोक्न प्राकृतिक रुपमा वनमै वन्यजन्तुको आहारको व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

कार्यालयका अनुसार बितेको १४ वर्षमा काभ्रेपलाञ्चोकमा जङ्गली जनावरको आक्रमणबाट १४ जनाको मृत्यु र घाइते भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । कार्यालयमार्फत मानव मृत्यु तथा घाइते तथा वर्षैपिच्छे अन्नबाली क्षति, घरपालुवा जनावर तथा पशुपक्षीको क्षतिपूर्ति निर्देशिकाअुसार दिँदै आइएको छ । सरकारको प्रावधानअनुसार मृतकका प्रतिपरिवारलाई रु १५ लाख तथा घाइतेको अवस्था हेरी उपचार खर्च दिइन्छ ।

पछिल्ला वर्षमा, वन्यजन्तुबाट आक्रमण हुने क्रम बढिरहेको पाइन्छ । खासगरी, समुदायका नागरिक निर्वाहमुखी जीविकोपार्जनका लागि सामुदायिक तथा निजी वनमा घाँस, दाउरा, स्याउला, सोत्तर आदिका लागि जाने क्रममा हात्ती, बाघ, चितुवा, बँदेलजस्ता जनावरको आक्रमणमा परी घाइते हुने र ज्यानै जानेसम्मको घटना पनि बेला बेलामा आइरहेका छन् । बढ्दो वन्यजन्तुको सङ्ख्या र सीमित उपयुक्त बासस्थानका कारण आहारा, विचरणको खोजीमा वन्यजन्तु संरक्षित जङ्गलका साथै स्थानीयको खेतबारी तथा खलिहानमा अन्नबाली खाइदिने, नोक्सान गरिदिने गतिविधिले वन्यजन्तुप्रतिको प्रतिशोध गर्ने घटना बढ्दै गइरहेको विज्ञहरु बताउँछन् ।

एक दशकको अवधिमा काभ्रपलाञ्चोकका विभिन्न स्थानमा चितुवाले बालबालिकालाई खाएको तथा खेतबारीमा कृषकलाई घाइते बनाएको, वन्यजन्तुका लागि थापिएको विद्युतीय धरापमा परेर केही वर्षअघि बर्दियामा एकाघरका तीन जनाको मृत्युले पनि पछिल्ला वर्षका दिनमा मानव–वन्यजन्तुबीचको बढ्दो द्वन्द्व र तस्करका लागि अनुकूल अवसर र वन्यजन्तुप्रतिको प्रतिशोधको अवसरले गर्दा प्रभावित स्थानीय संरक्षणप्रति उदासीन हुने गरको सङ्केत गरिरहेको छ । यो अवस्थामा स्थानीय निकायले ऐन, कानुन निर्माण गरी आफ्नो क्षेत्रमा वन्यजन्तु संरक्षणको वातावरणका साथै यसको द्वन्द्व व्यवस्थापन र चोरीशिकारी नियन्त्रणमा ध्यान दिनु अपरिहार्य भइसकेको छ ।

78
Shares

धेरै हेरिएका

©Nepal Durbar 2021-2024. All rights reserved.

Developed By IvaZz Technology