एमाले नेता सुवास नेम्वाङलाई श्रद्धाञ्जली दिन पुगे शीर्ष नेता: शालिन, भद्र र सहमतिको पक्षधर नेता गुमाएकाे प्रतिक्रिया

Nepal Durbar

२०८०-०५-२७

258
Shares

काठमाडौँ । हृदयघातबाट निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि एमाले पार्टी कार्यालय ललितपुरको च्यासलमा राखिएको छ । 
पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

त्यसैगरी एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलिका लागि त्यहाँ पुग्नुभएको छ । प्रतिनिधिसभामा इलामबाट निर्वाचत सांसद नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को केन्द्रिय कार्यालयमा जानु भई त्यहाँ राखिएको पूर्वसभामुख सुवास नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । यसैगरी नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपसभामुख इन्दिरा राना मगर, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत,  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत नेम्वाङलाई श्रद्धाञ्जलि दिन च्यासल पुग्नुभयो ।

यस्तै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेलगायत नेताहरुले पूर्वसभामुख नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्न पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको ठूलो उपस्थिति छ ।

    राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएकोछ ।
सामाजिक सञ्जालमार्फत उहाँले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

नेम्वाङको निधनबाट राष्ट्रलाई अपुरणीय क्षति : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै उहाँले नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गर्नुभएको छ ।

संसदीय दलका उपनेता नेम्वाङको  निधनले सिङ्गो  पार्टी र राष्ट्रलाई अपुरणीय क्षति पुगेको पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ, “म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, यस दुःखद् घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।”
    
नेम्वाङको निधनबाट मर्माहत भएको छु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको बताउनुभएको छ । महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । नेकपा (एमाले)का उपाध्यक्ष नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।

नेम्वाङ मेरा लागि पार्टीको उपाध्यक्षमात्र होइन, हितैषी र साथी : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्षमात्र नभएर हितैषी मित्र र सुखदुःखको साथी भएको बताउनुभएको छ । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत् नेम्वाङलाई श्रद्धाञ्जली दिँदै भन्नुभएको छ, “लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनुभएको योगदान सधैँ सम्झिरहने छौँ । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली !”
    
समाजवादी अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले  गए राति निधन हुनुभएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गर्नुभएको छ । महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।  

देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताउनुभएको छ । उहाँले  नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका नेम्वाङको  निधनप्रति दुःख व्यक्त गर्दै नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको  छ भन्नुभयो । “प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, उहाँले भन्नुभएको छ ।

संसद्ले अनुभवी नेता गुमायो : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले आफू मर्माहत भएको भएको बताउनुभएको छ ।

शोक वक्तव्य जारी गर्दै उहाँले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै संसद्ले एक अनुभवी, असल र तथा राष्ट्रले एक सिद्धान्तनिष्ठ, देशभक्त इमान्दार नेता गुमाएको उल्लेख गर्नुभयो । “२०६२/६३ को जनआन्दोलनपछि पुनःस्थापित संसद्मा सभामुख र  पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा उहाँले खेलेको नेतृत्वदायी भूमिकाको मुलुकले सधैँ स्मरण गरिरहने छ”, जारी शोक वक्तव्यमा भनिएको छ, “नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उहाँको महत्त्वपूर्ण भूमिका थियो ।”

नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्यो : पूर्वप्रधानमन्त्री डा भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोरेको बताउनुभएको छ । उहाँले एमाले उपाध्यक्ष नेम्वाङको निधनबाट आफू स्तब्ध र मर्माहत भएको बताउनुभयो । “ आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल व्यक्तित्व नेम्वाङको निधनबाट देशले क्षति व्यहोरेको छ”, उहाँले भन्नुभयो, “मैले आत्मीय मित्र गुमाएको छु”, अध्यक्ष भट्टराईले नेम्वाङप्रति श्रद्धाञ्जलि र परिवारजन तथा पार्टी पङ्क्तिमा समवेदना व्यक्त गर्नुभएको छ ।

सहकर्मी र सहयात्रीको निधनबाट स्तब्ध छु : नेता खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट स्तब्ध बनेको बताउनुभएको छ । आज वक्तव्य जारी गर्दै उहाँले नेम्वाङप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । नेता खनालले एमाले उपाध्यक्ष नेम्वाङ ७ कक्षादेखिको आफ्नो सहपाठी र राजनीतिक सहयात्री भएको स्मरण गर्दै संविधानसभा अध्यक्ष भएर आजको संविधान निर्माण गर्ने काममा पनि उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।

“हामीले माध्यमिक शिक्षासँगै पढ्यौँ । त्रिचन्द्र कलेजमा आइएससीसँगै पढ्यौँ । त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गर्र्यौँ”, नेता खनालले भन्नुभयो, “मैले नै उहाँलाई २०२९ सालदेखि प्रगतिशील पार्टी राजनीतिमा आउन प्रेरित पनि गरेँ, को–अर्डिनेसनकालदेखि नेकपा निर्माणको कालसम्म उहाँ र म एउटै पार्टीमा लामो समयसँगै काम गर्र्यौँ ।” आफूहरु अलग–अलग पार्टीमा हुँदा पनि हाम्राबीच सधैँ सम्पर्क र सम्बन्ध हुँदै आइरहेको स्मरण गर्दै नेता खनालले पार्टी विभाजन भएका प्रति नेम्वाङ निकै दुःखी हुनुभएको बताउनुभयो । “मिलेर काम गर्ने उपाय के हुनसक्छ भन्नेबारेमा हाम्राबीच चर्चा भइरहन्थ्यो”, उहाँले भन्नुभयो ।

नेम्वाङको निधनबाट मुलुकले शालिन राजनीतिज्ञ गुमाएकोछ– अध्यक्ष रेग्मी

तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट मुलुकले शालीन र सन्तुलित राजनीतिज्ञ गुमाएको बताउनुभएको छ । उहाँले कानुनी क्षेत्रको पृष्ठभूमि भएकाले राजनीतिक, कानुनी र संवैधानिक इतिहासमा पूर्वसभामुख नेम्वाङको समन्वयकारी क्षमतासहितको योगदान स्मरण भइरहने उल्लेख गर्नुभयो ।

पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “सुवासजीको न्याय क्षेत्रमा राम्रो प्रभाव थियो, राजनीतिक र संवैधानिक व्यवस्थामा समन्वयकारी भूमिका निर्वाह गरेर संविधान जारी गर्न उहाँले समन्वयकारी भूमिका खेल्नुभयो ।” नजिकबाट चिनेको व्यक्ति भएकाले सुवासजीको  निधनको खबरले साह्रै दुःख लागेको बताउँदै उहाँले दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जलिका साथै परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो ।

सविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीय : पूर्वसभामुख सापकोटा

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संविधानसभा अध्यक्ष नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताउनुभएको छ । आज शोक वक्तव्य जारी गर्दै उहाँले दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्ने प्रक्रियामा नेम्वाङको अतुलनीय योगदान रहेको पूर्वसभामुख सापकोटाले स्मरण गर्नुभयो । नेम्वाङले शालीन र समन्वयकारी भूमिकामार्फत सिङ्गो राजनीतिक बृत्तमा फरक छवि र पहिचान निर्माण गर्न सफल हुनुभएको उल्लेख गर्दै उहाँले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व तहमा रहेर लोकतन्त्र, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहने बताउनुभयो ।

नेम्वाङ लोकतान्त्रिक आन्दोलनका  उदाहरणीय नेताः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङ¬को निधनबाट सिङ्गो राष्ट्र शोकाकुल भएको बताउनुभएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा उहाँले सञ्चारकर्मीसँग नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका एक उदाहरणीय नेताको निधनबाट हामी सबै शोकाकुल भएको प्रतिक्रिया दिनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “नेपालको राजनीतिक तथा लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकामा नेम्वाङलाई नेपाली जनताले पुस्तौँपुस्तासम्म स्मरण गरिरहनेछन् ।” संविधानसभा अध्यक्ष नेम्वाङको निधनबाट नेपालको राजनीति, समाजलाई क्षति पुगेको उहाँले उल्लेख गर्नुभयो ।

नेम्वाङको निधनप्रति मुख्यमन्त्री पाण्डेद्वारा दुःख व्यक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनले आफू स्तब्ध भएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले दिवङ्गत नेता नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

258
Shares

धेरै हेरिएका

©Nepal Durbar 2021-2024. All rights reserved.

Developed By IvaZz Technology