©Nepal Durbar 2021-2026. All rights reserved.
Developed By IvaZz Technology
१३ वैशाख, काठमाडौं । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा जान पाँच लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार २०७८ वैशाख १ गतेदेखि चैत ३० गतेसम्मको अवधिमा उनीहरुले श्रम स्वीकृति लिएका हुन् ।
विभागका अनुसार सो अवधिमा कूल ५ लाख ९ हजार ५९३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
कोरोना महामारीका कारण अघिल्लो वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रुपमा घटेको थियो, जसले नेपाल भित्रने रेमिट्यान्समा समेत असर गरेको छ ।
२०७८ सालमा प्रत्येक महिना औषतमा ४२ हजार ४६६ जनाभन्दा बढीले विभागबाट श्रम स्वीकृति लिएका छन् ।
विभागका अनुसार २०७८ सुरु भएपछि वैशाखमा २४ हजार ३६३, जेठमा ४ हजार ८६, असारमा २० हजार ६५८, साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७०, फागुनमा ५३ हजार ४५७ र चैतमा ५५ हजार ५२३ जनाले श्रम स्वीकृति लिएका छन् ।
सन् २०१९ डिसेम्बर अन्तिम साताबाट कोरोना महामारी विश्वमा फैलन थालेपछि वैदेशिक रोजगारीमा जानेको संख्या क्रमसः घट्दै गएको थियो ।
कोरोना महामारी सुरु भएको वर्ष २०७६/७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४३३ रहेको थियो । योभन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा जान ४ लाख ७६ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७७/७८ मा यो संख्या १ लाख ६६ हजार ६९८ मा झरेको थियो ।
कोरोना महामारीले थलिएको वैदेशिक रोजगारी यो वर्ष पुरानै लयमा फर्केको श्रम स्वीकृति लिनेको तथ्याङ्कले देखाउँछ । वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दा नेपाल भित्रने रेमिट्यान्समा पनि वृद्धि हुने आशा गरिएको छ । कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा पछिल्लो समय नेपाल भित्रने रेमिट्यान्स घट्दै गएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिना (साउनदेखि फागुनसम्म)मा विभिन्न देशबाट नेपालमा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो वर्ष सोही अवधिको तुलनामा नेपाल भित्रने रेमिट्यान्समा १.७ प्रतिशतले कमी आएको राष्ट्रबैंकले जनाएको छ ।
