नातिकाजीको स्मृतीमा सङगीतकर्मी र पत्रकारलाई सम्मान तथा पुरस्कार

Newsdurbar

२०७९-०१-२०

309
Shares

२० वैशाख,  काठमाडाैँ । सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने विभिन्न संगीतकर्मी र पत्रकारलाई २०७९ सालको नातिकाजी विशिष्ट सम्मान एवं पुरस्कारहरू प्रदान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान, २०७९ गायन विधाकी नुपुर बनर्जी भट्टाचार्यलाई प्रदान गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा हिजो (सोमबार) नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा उहाँले कलाकार, समाजसेवी र पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गर्नुभएको हो ।

विभिन्न विधामा गरी नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान, २०७९ नारायणदास कार्की ढली, प्रदीप उपाध्याय, उमेश पाण्डे, एसपी कोइराला, कुन्ती मोक्तान, राजकुमार श्रेष्ठ, बि बि थापा, शहदेव ढुङ्गाना, प्रभु ढकाल, शिला पन्त, सीताराम पोखरेल, ज्ञानेन्द्र गदाल, हरिभक्त बुढाथोकी र शीतल कादम्बिनीले प्राप्त गर्नुभएको छ । नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार, २०७७ अरुण तिवारी, सन्तोष श्रेष्ठ, निशा देशार र शिव परियारलाई प्रदान गरिएको छ ।

नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, २०७९ डिपी दाहाल, अर्जुन पोखरेल, सिन्धु मल्ल र अजर जङ्गमले प्राप्त गर्नुभएको छ । नातिकाजी राष्ट्रिय सङ्गीत संयोजन तथा वाद्य पुरस्कार एलिस कार्की ढली पाउनुभएको छ । नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार विजयरत्न तुलाधर र दिवाकर मैनालीले पाउनुभएको छ । नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार, २०७७ अमृतहिरा तुलाधर योगी र नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार कृष्ण कँडेलले प्राप्त गर्नुभएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नातिकाजीका सिर्जना सम्पदाका रूपमा रहेको उल्लेख गर्नुभयो । उहाँका सिर्जनामा राष्ट्र, राष्ट्रियता र देशप्रेम ओतप्रोत रहेको उहाँको भनाइ छ । नेपाली मौलिकताको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको कर्तव्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्मृति समाजले कलाकारलाई सम्मान गरेर नवप्रतिभालाई प्रोत्साहित गरेको छ ।”

समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले नातिकाजी बाल्यकालदेखि जीवनको अन्तिम समयसम्म सङ्गीत सिर्जनामा लाग्नुभएको उल्लेख गर्नुभयो । पुरस्कृत व्यक्तित्व एसपी कोइरालाले पुरस्कारले थप जिम्मेवार बनाएको उल्लेख गर्नुभयो ।

309
Shares

धेरै हेरिएका

©Nepal Durbar 2021-2026. All rights reserved.

Developed By IvaZz Technology