©Nepal Durbar 2021-2026. All rights reserved.
Developed By IvaZz Technology
२१ वैशाख, काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान पुनः सुचारु भएको छ ।
आज (बुधवार) विमानस्थलको आन्तरिक टर्मिनल बिल्डिङतर्फ ७ वटा बम रहेको सूचना आएपछि अवरुद्ध भएको आन्तरिक उडान सेवा पुनः सुचारु भएको हो । बुधवार बिहान विदेशबाट एक अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनल बिल्डिङतर्फ ७ ठाउँमा बम राखेको सूचना दिएपछि आन्तरिक उडान–अवतरण सेवा करिव १ घण्टासम्म अवरुद्ध भएको थियो । बम रहेको सूचना पाएपछि विमानस्थल प्रशासन र सुरक्षाकर्मीहरुले विमानस्थल क्षेत्रको जेकजाँच गरेका थिए । जसमा कुनै पनि शंकास्पद वस्तु नरहको प्रमाणित भएको छ । सूचना फैलाउने व्यक्तिले भ्रामक सूचना दिएकाले प्रहरीले उक्त भ्रामक सूचना दिने व्यक्तिको बारेमा अनुसन्धान गरिहेको जनाएको छ । सञ्चारकर्मीहरुसँगको कुराकानीमा विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले कार्यालयको टेलिफोनमा ९ः४० देखि ९ः५० को बीचमा दुई पटक फोन गरेर बम राखेको सूचना दिएकोले अनुसन्धान गरेको तर कुनै पनि शंकास्पद वस्तु फेला नपरेको बताउनु भयो । उहाँले कुनै शंकास्पद वस्तु नपाइएपछि पुनः उडान सेवा शुरु गरिएको जानकारी दिनुभयो । उहाँले भ्रामक सूचना दिने व्यक्तिले नेपालीमा कुरा गरेको बताउनु भयो ।
प्रवक्ता सिटौलाले भन्नुभयो, ‘आज हाम्रो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा ६÷७ वटा बम रहेको र यो बम २ घण्टाभित्रमा बिस्फोट हुन्छ भनेर बाहिरबाट टेलिफोन आएको थियो । अफिसको टेलिफोन एक्सचेन्जमा । ९ बजेर ४० मिनेटदेखि ९ बजेर ५० मिनेटको बीचमा त्यही मानिसले गरेको थियो । हामीले तत्काल विमानस्थल प्रशासन, कार्यरत सुरक्षा निकाय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनपथ प्रहरीले डिस्पोजल टोली बोलाएर अनुसन्धान थाल्यो । हामीले सबै क्षेत्रमा जाँच गर्दा कुनै पनि प्रकारको शंकास्पद, बम बिस्फोटक पदार्थहरु केही पनि पाइएन । केही नपाइएपछि हामीले ११ः१० मा विमानस्थल सञ्चालनलाई पुनः सुचारु गरेको अवस्था छ । हामीले सुरक्षा निकाय सम्बन्धितलाई खबर गरिसकेका छौँ । सलाम वालेकुम भनेर नेपालीमा कुराकानी गर्नुभएको छ ।’
प्रवक्ता सिटौलाले शंकास्पद वस्तु वा कसैको व्यवहारमा शंका लागे तत्काल सुरक्षा निकायलाई सम्पर्क गर्न पनि अनुरोध गर्नुभयो ।
