©Nepal Durbar 2021-2026. All rights reserved.
Developed By IvaZz Technology
२२ वैशाख, काठमाडौं । पेन्ट्स उद्योगहरुले पेन्ट्स बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा ३० प्रतिशतसम्म लगाउँदै आएको भन्सारदर ५ प्रतिशतमा घटाउन माग गरेका छन् । बिहीवार काठमबाडौंमा पत्रकार सम्मेलन गरी पेन्ट्स उद्योग संघले तयारी वस्तु र कच्चा पदार्थको मूल्य एउटै भएको भन्दै पेन्ट्स बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा ३० प्रतिशतसम्म लगाउँदै आएको भन्सारदर ५ प्रतिशतमा घटाउन माग गरेका हुन । नेपाल पेन्ट्स उद्योग संघका अध्यक्ष विश्व प्रकाश साःखले नेपाल पेन्ट्समा आत्मनिर्भर भइसकेको भए पनि कच्चा पदार्थमा लाग्दै आएको भन्सार शुल्कले उद्योग सञ्चालनमा समेत समस्या भएको बताउनु भयो । उहाँले सरकारले भन्सार शुल्क ३० प्रतिशत लगाउँदा बजारमा उपभोक्ताले मूल्य वृद्धिको मार खेप्नु परेको बताउनु भयो । साःखले नेपाल पेन्ट्समा आत्मनिर्भर हुँदै गएकाले विदेशबाट आउने तयारी पेन्ट्समा काउन्टर भेलिङ शुल्क लगाउन सुझाव दिनु भयो । उहाँले पेन्टसका लागि आवश्यक मुख्य कच्चा पदार्थको आयातमा तयारी उत्पादनकै वस्तुसरह भन्सार महशुल लाग्ने गरेको बताउनु भयो । अध्यक्ष साःखले सरकारले ३० प्रतिशतसम्म भन्सार, ७ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट लगाउँदा उद्योगीलाई बाँच्न अप्ठ्यारो परेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ पेन्ट्समा नेपाल आत्मनिर्भर भइसकेता पनि पेन्ट्स उद्योगको कच्चा पदार्थमा लाग्दै आएको भन्सार महशुल समग्र उद्योगको लागि अहिले अफ्ठयारो अवस्था रहेको छ । उपभोक्ताहरुले पेन्ट्सको महँगो मूल्यमा खरिद गर्नु पर्ने अवस्था छ । पेन्ट्स उद्योगमा लाग्ने कच्चा पदार्थ एक्रिलिक पोलिमर सबै पानीमा आधारित पेन्ट तयार गर्नको लागि आवश्यक एक मुख्य कच्चा पदार्थ हो । यसको आयातमा सरकारलाई ३० प्रतिशतसम्म भन्सार तिर्नुपरेको छ । नेपालमा पानीमा आधारित पेन्ट कुल बिक्रीको करिब ७५ प्रतिशत रहेको छ । इमल्सन एचएसएन कोड ३९.०६ अन्तर्गत वर्गीकृत गरिएको वाटर बेस्ड पेन्टहरुका लागि कच्चा पदार्थ भए पनि २०७६ असारमा भन्सार विभागले एक्रिलिक पोलिमरलाई फिनिस्ड गुडका लागि तोकिएको कोड ३२.०९ अन्तर्गत वर्गीकृत गर्न निर्देशन दिएको छ । एचएसएन ३९.०६ अन्तर्गत आयातमा १० प्रतिशत मात्रै तिर्नुपर्ने र साफ्टा सुविधा पनि पाइनेछ । तर ३२.०९ कोडअन्तर्गत भन्सार मूल्यांकन गर्दा ३० प्रतिशत शुल्क तिर्नुपर्ने र साफ्टाको छुट नपाउने अवस्था छ । सरकारले ३० प्रतिशतसम्म भन्सार, ७ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट लगाउँदा उद्योगीलाई बाँच्न अप्ठ्यारो परेको छ ।’
पेन्ट्स उद्योगीहरुले एक्रिलिक पोलिमरमा श्रीलंका, बंगलादेश, भारतजस्ता छिमेकी मुलुकमा १० प्रतिशतसम्म भन्सार शुल्क लाग्ने गरिएकोमा नेपालमा बढी रहेको बताएका छन्। पेन्ट उद्योगहरुले टाइटेनियम डाइअक्साइडलाई ३२.०६.११ मा आयात गर्ने गरेको हुँदा एचएसएन कोड सच्याउन समेत माग गरेको छ । नेपालमा पेन्ट्सको वार्षिक कारोबार २० अर्ब रुपैयाँ रहेको छ। हाल नेपालमा ५० भन्दा बढी पेन्ट्स उद्योग छन् । विदेशी लगानीसहितका ३ वटा छन् ।
